Sunday, May 27, 2018

टुङ्नाको आत्महत्या

दीपक वाग्ले  
जिन्दगीको अर्थ खोज्ने भ्रममा
झिलिमिली सहरको झिल्कासँगै
सल्किएर
धपक्क बलेकी तिमी
वर्षौंसम्म भुइँकुइरोले ढाकेको लेकमा
पर्खी बसेको यो च्याङ्बालाई
चटक्कै बिर्सिएर
सहरको रमझममै रमझमायौ कि ?
कि अल्झाउने दोबाटो छोडी अनन्त गोरेटामा
पाइला चाल्दै अदृश्य भयौ 
तिम्रो प्रतीक्षामा
हिउँ कैयौं पटक पग्लिसके
बुकीका फूलहरू
फुल्दै ओइलाउँदै झरिसके
गुम्बामाथिका ध्वजाहरू मक्किएर
धुजाधुजा भइसके
चिबेचरीहरू चिरबिर चिरबिर गर्दै
सुसेली हाल्न छोडिसके
लालीगुँरास फुलेर पनि
मगमगाउँन भुलिसक्यो
खर्कहरू सन्नाटाको शितलहरीमा
बिलाइसके
तिम्रा यादहरूको एम्बुसमा
घाइते मन बोकेर
सपनीमा अन्तिम सास फेर्दै गर्दा
तिमी अतितको लहरीमा
फर्कियौ भने
बिर्सिसकेका ती उराँठलाग्दा भञ्ज्याङ
लेकबेंसी छिचोल्दै
तिमी मानेहरूको पङ्क्तिभित्र
मलाई नियाल्न छोडेर
आफ्नो गन्तव्य पछ्याउँदै
मेरा यादहरूबाट
अदृश्य भएर
क्षितिज पर तिम्रो स्वप्निल दुनियाँमा
मुस्कुराउँदै फर्क
अब अर्थहीन यादहरू
मात्र आँशुमा सीमित हुन्छन् । 
फर्किएर जाऊ तिमी
यो लेकभित्र
चिसो आङ कठ्याङ्ग्रिने बतास
गोडा थरथराउँने थोराङ पासका भीरहरू
हिमपातले सेताम्य चौंरीखर्कहरू
अर्धमूर्छित बस्तीहरूमा एकतमासले बजिरहेको
डम्फुका नियास्रित धुनहरू
चिहानभित्रको सन्नाटा
बाजहरूको फनफनी चाल
हिमस्खलनसँगै मृत भोटेहरूको लास
लाससँगै भविष्य लास भएका
डोल्मा र छिरिङको कथाव्यथाहरू
नदेख्दै
जाउँ तिमी तिम्रो सहरमा
अल्झाउने दोबाटो छोडी अनन्त गोरेटोमा
फर्किंदै गर्दा तिम्रा नयन जब मेरो
भग्नावशेष झुपडीको भित्तामा प¥यो भने
त्यहाँ देख्नेछौ
तिमीले दिएको टुङ्ना
तिम्रो मनजस्तै चुँडिएर
त्यही दलिनमा झुन्डिरहेको हुनेछ
मानौँ तिम्रो यादमा
आत्महत्या गरेको होस् ।

No comments:

Post a Comment