Sunday, May 27, 2018

कसैले मलाई पागल भनिदियो

-दीपक वाग्ले  
मलाई कसैले पागल भनिदिएँ
अनि मैले पागल हुने निर्णय गरेँ ।
अचेल म आफैसँग दुःखी छु
आफैभित्र दुःखी छु
सपनाहरू अब सपनानै रहनेछन्
स्मृतिहरु मसँगै बिलाउँनेछन्
यहाँ यथार्थ सबैलाई तितो लाग्छ भने
म मिठासको भ्रममा कदापि बाँच्न सक्दिनँ
बरु म तिम्रो स्वादमा तितो भएर बाँच्नेछु
अनि मैले तितो हुने निर्णय गरेँ ।
अचेल म सासविना बाँच्दैछु
लास जस्तो आशविना बाँच्दैछु
जाउँ तिमी खुशी खोज्न 
पर सुदूरपूर्वको सहरमा
मर्नदेऊ मर्नेहरु यादहरुका रहरमा
यहाँ मृत्यु पनि जिन्दगी जस्तो लाग्छ भने 
म जिउँनुको भ्रममा कदापि बाँच्न सक्दिनँ
हो बरु म तिम्रो सहरमा अदृश्य भएर नै बाँच्नेछु
अनि मैले गुमनाम हुने निर्णय गरेँ ।
अचेल नयनहरु नयन सँगै थकित छन्
क्षितिज पारीका सहरतिर भौतारिदै 
तिम्रा पदचापहरू पछ्याउँदा पछ्याउँदै
टुङ्गिन सक्छन् मृत्युका पाइलाहरू
यहाँ फूलहरूले पनि घोच्न थाल्छन् भने
म चोटहरूको भ्रममा कदापि बाँच्न सक्दिनँ
हो बरु म तिम्रो वसन्तमा उजाड  भएर बाँच्नेछु
अनि मैले गृष्म हुने निर्णय गरेँ
मलाई कसैले पागल भनिदियो
अनि मैले पागल हुने निर्णय गरेँ ।

टुङ्नाको आत्महत्या

दीपक वाग्ले  
जिन्दगीको अर्थ खोज्ने भ्रममा
झिलिमिली सहरको झिल्कासँगै
सल्किएर
धपक्क बलेकी तिमी
वर्षौंसम्म भुइँकुइरोले ढाकेको लेकमा
पर्खी बसेको यो च्याङ्बालाई
चटक्कै बिर्सिएर
सहरको रमझममै रमझमायौ कि ?
कि अल्झाउने दोबाटो छोडी अनन्त गोरेटामा
पाइला चाल्दै अदृश्य भयौ 
तिम्रो प्रतीक्षामा
हिउँ कैयौं पटक पग्लिसके
बुकीका फूलहरू
फुल्दै ओइलाउँदै झरिसके
गुम्बामाथिका ध्वजाहरू मक्किएर
धुजाधुजा भइसके
चिबेचरीहरू चिरबिर चिरबिर गर्दै
सुसेली हाल्न छोडिसके
लालीगुँरास फुलेर पनि
मगमगाउँन भुलिसक्यो
खर्कहरू सन्नाटाको शितलहरीमा
बिलाइसके
तिम्रा यादहरूको एम्बुसमा
घाइते मन बोकेर
सपनीमा अन्तिम सास फेर्दै गर्दा
तिमी अतितको लहरीमा
फर्कियौ भने
बिर्सिसकेका ती उराँठलाग्दा भञ्ज्याङ
लेकबेंसी छिचोल्दै
तिमी मानेहरूको पङ्क्तिभित्र
मलाई नियाल्न छोडेर
आफ्नो गन्तव्य पछ्याउँदै
मेरा यादहरूबाट
अदृश्य भएर
क्षितिज पर तिम्रो स्वप्निल दुनियाँमा
मुस्कुराउँदै फर्क
अब अर्थहीन यादहरू
मात्र आँशुमा सीमित हुन्छन् । 
फर्किएर जाऊ तिमी
यो लेकभित्र
चिसो आङ कठ्याङ्ग्रिने बतास
गोडा थरथराउँने थोराङ पासका भीरहरू
हिमपातले सेताम्य चौंरीखर्कहरू
अर्धमूर्छित बस्तीहरूमा एकतमासले बजिरहेको
डम्फुका नियास्रित धुनहरू
चिहानभित्रको सन्नाटा
बाजहरूको फनफनी चाल
हिमस्खलनसँगै मृत भोटेहरूको लास
लाससँगै भविष्य लास भएका
डोल्मा र छिरिङको कथाव्यथाहरू
नदेख्दै
जाउँ तिमी तिम्रो सहरमा
अल्झाउने दोबाटो छोडी अनन्त गोरेटोमा
फर्किंदै गर्दा तिम्रा नयन जब मेरो
भग्नावशेष झुपडीको भित्तामा प¥यो भने
त्यहाँ देख्नेछौ
तिमीले दिएको टुङ्ना
तिम्रो मनजस्तै चुँडिएर
त्यही दलिनमा झुन्डिरहेको हुनेछ
मानौँ तिम्रो यादमा
आत्महत्या गरेको होस् ।

Monday, May 14, 2018

बिर्सियो नभन्नु कान्छी मलाई

बिर्सियो नभन कान्छी मलाई
मैले सास फेर्न मात्र बिर्सिएको थिएँ
तिमीलाई होइन ।
चारैतिर घेरिएको ठूलो पर्खालभित्र
निस्सासिँदो सासमा आश बोकेर
जब मेरा मूर्छित नयनहरू तिम्रो बाटो कुरिरहेका हुन्छन्
तब  समयको  अभावमा लास बनी तिम्रो तलासमा
भट्किएर हिँड्न थाले भने
त्यही पुराना गोरेटा गल्लीहरूमा भौतारिँदा भौतारिँदै
अनन्त दोबाटोमा विलिन भए भने
विन्ति मेरो चिहानमा फर्किएर नरुनु तिमी
तिम्रा लागि आँशुहरूको त्रिशूली बगाएर
यौटा जँघार तरिसके मैले ।
खोली किनारका साँघुरा फाँटहरूमा बयली खेल्ने
चञ्चल हावाका झोक्काहरूझैँ
जब तिमी उडेर पर क्षितिजमा पुग्नेछौ
तब समयको सुसेलीमा सूर्यास्तको किरणसँगै
ओइलिएर झरे भने
तिमीले पर्खिबस्ने देउरालीका भञ्याङसम्म नपुग्दै
लड्खडाएर ढलँे भने
विन्ति मेरो स्मृतिलाई कल्पिएर कहिल्यै नरुनु तिमी
तिम्रा लागि आँशुहरूको त्रिशूली बगाएर
यौटा जँघार तरिसकँे मैले ।  
सात समुन्द्र पर तिम्रो सहरमा बिरलै झुल्कने
सन्ध्याकालीन ईन्द्रेणीहरूझै
जब बिस्तारै समयको कुइनेटासँगै सम्झनामा सीमित हुन्छु
तब खहरेको भेलसँगै पत्थर मन बोकेर
टुक्रँदा टुक्रँदै छिन्नभिन्न भए भने
सागर रूपी विशाल तिम्रो जीवनमा समाहित नहुँदै
बगर किनारमा अल्झिए भने
विन्ति यो मन्दिरको सिँढीलाई टेक्दा कहिल्यै नरुनु तिमी
तिम्रा लागि आँशुहरूको त्रिशूली बगाएर
यौटा जँघार तरिसकेँ मैले ।
बिर्सियो नभन कान्छी मलाई
मैले सास फेर्न मात्र बिर्सिएको थिएँ
तिमीलाई होइन ।
-सिन्धुली